मतान्तर
बिहिवार, बैशाख २५ २०७७
काठमाडौं – भारतमा कोरोना भाइरस संक्रमणले महामारी रुप लिँदै गइरहेको छ ।
दिनदिनै कोरोना संक्रमितको संख्या बढ्दै गएर बुधवारसम्म संक्रमित ५२ हजार नाघेका छन् । पछिल्ला ११ दिनमा संक्रमितको संख्या दोब्बर भएको छ ।
भारतमा अर्थतन्त्रलाई असर नपार्ने हिसाबले सीमित रुपमा आवश्यक व्यवसाय पुनः खोल्ने निर्णय भएकाले संक्रमणको अर्को लहर निम्त्याउने चिन्ता बढ्दै गएको छ । बुधवार एकैदिन भारतमा ३ हजार ४९० नयाँ संक्रमण पुष्टि भएका छन् भने ९८ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
भारतमा कोरोना संक्रमितको जम्मा संख्या ५२ हजार ९६७ पुगेको छ भने १ हजार ७११ जनाको मृत्यु भएको छ । भारतमा पहिलोपटक जनवरी महिनामा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
भारतका महाराष्ट्र, गुजरात र दिल्ली प्रान्त कोरोनाबाट सबैभन्दा धेरै प्रभावित देखिएका छन् । महाराष्ट्रमा बुधबार १ हजार २३३ नयाँ संक्रमण पुष्टि भएसँगै संक्रमित संख्या १६ हजार ७५८ पुगेको छ ।
महाराष्ट्रलाई गुजरातले पछ्याइरहेको छ । गुजरातमा बुधवारसम्म संक्रमित संख्या ६ हजार ६२५ पुगेको छ । बुधबार दिल्लीमा ४२८ नयाँ संक्रमित भेटिएसँगै कुल संक्रमित संख्या ५ हजार ५३२ पुगेको छ ।
भारतमा शनिवारसम्म १० लाख बढीको कोरोना परीक्षण गरिएको छ । १ अप्रिलसम्म ३८ हजार ९१४ जनाको मात्रै कोरोना परीक्षण भएको थियो । भारतीय स्वास्थ्य मन्त्रालयले चाँडै नै परीक्षण दर दैनिकी १ लाखमा पुर्याउने तयारी गरेको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाबाट बच्न सामाजिक दूरी कायम गर्न आह्वान गर्दै आएका छन् । भारतले समेत देशभर लकडाउन गरेर कोरोना रोकथामको प्रयास गरेको छ ।