मिडिया डबली
सोमवार, बैशाख २९ २०७७
काठमाडौं – सरकारले कोरोना भाइरस संक्रमण परीक्षण र पहिचानको लागि भनेर प्रयोग गरिरहेका र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) किटले सही नतिजा दिन सकेका छैनन् । किटले कोरोना भएको पनि स्पष्ट थाहा पाउँदैन भने नभएको पनि यकिन गर्न सक्दैन ।
किटले जुनसुकै नतिजा देखाएपनि कोरोना भए/नभएको यकिन गर्न पीसीआर प्रयोगशाला परीक्षण गर्नुपर्छ । तर पनि सरकारले आरडीटी किटमा सरकारी ढुकुटी खर्च गरिरहेको छ । नेपाली कांग्रेस लगायत विभिन्न विज्ञले समेत आरडीटी किटको विश्वसनीयतामा प्रश्न उठाएका छन् ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले भने विश्वसनीयतामा प्रश्न उठेपनि आरडीटी विधिबाट कोरोना एन्टीबडी परीक्षण नरोकिने अडान लिएका छन् । कोरोना परीक्षण नै गर्न नसक्ने किटसँग मन्त्रीले विशेष साइनो र लगाव देखाएका छन् ।
सोमवार संघीय संसदको राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठकमा मन्त्री ढकालले आरडीटी विधिको विश्वसनीयता र कमजोरीमा ध्यान दिँदै निरन्तरता दिने अडान लिए ।
‘आरडीटी टेस्टलाई हामी लान्छौं । यसको विश्वसनीयता र कमजोरीका विषयमा पनि ध्यान दिएका छौं । आरडीटी पोजेटिभ आयो भने छुट्टै राखिहाल्छौं । पोजेटिभ आएन भने पनि लिएकामध्ये १० प्रतिशतलाई र्यान्डमली पीसीआर प्रविधिमा लगेर ठीक हो कि होइन भनेर परीक्षण गर्छौं,’ उनले बैठकमा भने ।
समिति बैठकमा नेपाली कांग्रेसका सांसद डा. मिनेन्द्र रिजाल लगायतले आरडीटी विधिको परीक्षणमा प्रश्न उठेको भन्दै रोक्न सुझाव दिएका थिए । तर मन्त्री ढकालले आरडीटी परीक्षण रोक्न नसकिने जवाफ दिएर किटसँगको विशेष साइनो देखाएका छन् ।