मिडिया डबली
बुधवार, बैशाख ३१ २०७७
काठमाडौं – राजधानी काठमाडौं उपत्यकासहित मुलुकका विभिन्न भागमा मंगलवार एकैदिन ८३ जना कोरोना भाइरस संक्रमित फेला परेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहान ५७ र बेलुका २६ जनामा कोरोना भाइरस पोजेटिभ पुष्टि गरेको छ । यससँगै संक्रमितको संख्या २१७ पुगेको छ ।
बिहान पुष्टि भएकामध्ये २ जना सञ्चारकर्मी रहेका छन् । पछिल्ला संक्रमितमध्ये अधिकांश भारतबाट लुकीछिपी नेपाल आएकाहरू हुन् ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा उनीहरूको स्वाब नमूना परीक्षण गरिएको थियो । मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले दिउँसो प्रेस ब्रिफिङमा पर्साका ३९, रूपन्देहीका ९, कपिलवस्तुका ८ र बाराका १ जना संक्रमित रहेको बताएका थिए ।
मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बेलुका जारी गरेको प्रेस विज्ञप्तिअनुसार पर्साकै थप १८ जनामा संक्रमण देखिएको छ । महोत्तरी, धनुषा र भक्तपुरका २/२, काठमाडौं र सर्लाहीका १/१ जना संक्रमित छन् ।
र्यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी) र पोलिमरेज चेन रियाक्सन (पीसीआर) विधिबाट कोरोना परीक्षण भइरहेको छ । स्वाब संकलन र परीक्षण दायरा विस्तार गरिएको छ । मुलुकका सातै प्रदेशमा रहेका ८ वटा प्रयोगशालामा पीसीआर विधिबाट परीक्षण भइरहेको छ ।
प्रवक्ता डा. देवकोटाका अनुसार ५९ हजार ६२७ जनामा आरडीटी विधिबाट परीक्षण गरिएको छ । पीसीआर विधिबाट १८ हजार ९६४ नमूना परीक्षण गरिएको उनले बताए । पछिल्लो पटक थप २ हजार २३६ वटा परीक्षण भएका छन् । आजको अन्नपूर्ण पोस्ट दैनिकमा समाचार छ ।
मुलुकभरका क्वारेन्टाइनमा १२ हजार ७८५ जना बसिरहेका छन् । आइसोलेसनमा रहेकाको संख्या २२८ छ ।
प्रदेश नम्बर २ कोरोना संक्रमणको भुंग्रोमा परेको छ । भारतबाट प्रवेश गरेका जमातीको सम्पर्कमा रहेका व्यक्तिबाट संक्रमण फैलिएको जनाइएको छ । प्रदेश २ का ८ जिल्ला भारतीय सीमासँग जोडिएका छन् । बिहार राज्यका जिल्लासँग जोडिएको प्रदेश २ का पर्सा, महोत्तरी, बारा, रौतहट, धनुषा र सर्लाहीमा संक्रमित फेला परेका छन् । प्रदेश २ मा १ हजार ५ सय ३४ जना क्वारेन्टाइनमा बसिरहेको प्रवक्ता डा. देवकोटाले बताए । ८० जना आइसोलेसनमा छन् ।
प्रदेश नम्बर ५ का नागरिक कोरोनाको उच्च जोखिममा देखिएका छन् । भारतको मुम्बईबाट आएका व्यक्तिले संक्रमण बढाएको पाइएको छ ।
कपिलवस्तुमा स्थानीय प्रशासनले जिल्ला सिल गरेको छ । भारतसँग सीमा जोडिएको कपिलवस्तुको यशोधरा गाउँपालिका, बुद्धभूमि नगरपालिकामा नयाँ संक्रमित फेला परेका हुन् ।
कपिलवस्तुपछि बाँकेको नेपालगन्जमा संक्रमित बढी देखिएका छन् । तेस्रोमा रुपन्देही जिल्ला प्रभावित भएको छ । बर्दियाको राजापुर–५ की ११ वर्षीया बालिकामा पनि संक्रमण देखिएको छ ।
कपिलवस्तु र रूपन्देहीका संक्रमित बुटवलस्थित कोरोना अस्पतालमा उपचाररत छन् । बाँके र बर्दियाका संक्रमितको उपचार खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसनमा भइरहेको छ । प्रदेशमा ५ हजार ४ सय ४२ जना क्वारेन्टाइनमा बसिरहेको डा. देवकोटाले बताए । ९८ जना आइसोलेसनमा छन् ।