मिडिया डबली
बुधवार, भाद्र २४ २०७७
काठमाडौं- पछिल्लाे २४ घण्टामा देशभर थप ९०२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले हालसम्म कुल संक्रमितको संख्या ४८ हजार १३८ पुगेको जानकारी दिएका हुन् ।
यस्तै पछिल्लो २४ घण्टामा २ हजार २८७ जना कोरोना संक्रमण मुक्त भएसँगै निको हुनेको कुल संख्या ३२ हजार ९६४ पुगेको छ।
यसैगरी देशभर सक्रिय संक्रमितको संख्या १४ हजार ८६८ रहेको छ । जसमा संस्थागत आइसोलेशनमा ८ हजार ५३ रहेका छन् भने होम आइसोलेशनमा ६ हजार ८१५ जना रहेका छन् । यस्तै आज १० हजार ६११ जनाको पीसीआर परीक्षण भएको छ ।
कुन जिल्लामा कति थपिए ?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार झापामा १६ जना, इलाममा एकजना, मोरङमा ५१ जना, ओखलढुंगामा १३ संक्रमित थपिएका छन्। यस्तै सुनसरीमा ३८ र उदयपुरमा दुई जना संक्रमित थपिएका छन्।
सप्तरीमा १८, सिराहामा चार र धनुषामा थप ३३ जनामा संक्रमण भएको छ। महोत्तरीमा आज चार जना संक्रमित थपिएका छन्। सर्लाहीमा ६, बारामा १२, पर्सामा १४, रौतहटमा आठ जनामा संक्रमण भएको मन्त्रालयको विवरणमा उल्लेख छ। बागमती प्रदेशका रामेछापमा आठ, दोलखामा दुई, भक्तपुरमा ५८ र धादिङमा आठ जना संक्रमित थपिएका छन्।
आज सबैभन्दा बढी काठमाडौंमा काठमाडौंमा ३००, काभ्रेपलाञ्चोकमा दुई, ललितपुरमा १७ र नुवाकोटमा तीन जनामा संक्रमण भएको छ। यस्तै सिन्धुपाल्चोकमा एक, चितवनमा २० र मकवानपुरमा २४ संक्रमित थपिएका छन्। गण्डकी प्रदेशको बागलुङमा १०, गोरखामा पाँच र कास्कीमा ३० जना संक्रमित थपिएका छन्।
लमजुङमा दुई, नवलपुरासी पूर्वमा सात, पर्वतमा एक, स्याङ्जामा एक र तनहुँमा तीन जनामा संक्रमण भएको छ। प्रदेश ५ का कपिलवस्तुमा एक, नवलपरासीमा एक, रुपन्देहीमा २१ जना संक्रमित थपिएका छन्।
यस्तै अर्घाखाँचीमा एक, गुल्मीमा एक, दाङमा तीन र रोल्पामा एक जना संक्रमण भएको छ भने बाँकमा पाँच तथा बर्दियामा थप सात जनामा संक्रमण भएको छ। दैलेखमा एक र सुर्खेतमा १८ जनामा संक्रमण भएको छ। कञ्चनपुरमा नौ तथा कैलालीमा ७७ जना संक्रमित थपिएको मन्त्रालयको विवरणमा उल्लेख छ।