मिडिया डबली
बुधवार, बैशाख ३१ २०७७
काठमाडौं–नेपालमा कोरोना भाइरस फैलिने दर तीव्र गतिमा बढेको छ। गत माघ ९ गते चीनबाट आएका एक पुरुषमा पहिलोपटक कोरोना संक्रमण पुष्टि भएको थियो। त्यसको दुई महिना २ दिनपछि चैत १० गते फ्रान्सबाट आएकी महिलामा कोरोना पुष्टि भएको थियो।
त्यसयता १ सय ६ दिनपछि वैशाख २५ गते नेपालमा संक्रमितको संख्या १०१ पुगेको थियो। पहिलो सय जना संक्रमित भेटिन १ सय ६ दिन लागेको नेपालमा दोस्रो सय जना भेटिन ५ दिनमात्रै लागेको छ।
सय संक्रमित पुगेको ५ दिनपछि मंगलबार नेपालमा कोरोना संक्रमितको संख्या २ सय १७ पुगेको छ। मंगलबार ९आज० मात्रै नेपालमा थप ८३ जनामा कोरोना पुष्टि भएको छ। यसअघि सोमबार थप २४ मा कोरोना संक्रमण देखिएको थियो।
पछिल्लो समय देशभर परीक्षण दायरा बढाएसँगै नेपालमा संक्रमितको संख्या पनि थपिएको हो। जनस्वास्थ्यविद् डा. सिद्धि अर्यालले अरु देशमा संक्रमितको संख्या १ सय पूरा भएपछि थप १५ सय पुग्न धेरै समय नलागेको बताउँदै नेपालमा टेस्ट किटको अभाव र परीक्षण दायरा कम हुनुले कम देखिएको र परीक्षणको दायर बढाउँदासाथ संक्रमितको संख्या पनि बढ्ने बताए।